बी.एस्सी. चौथो वर्षका विद्यार्थीलाई बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न

बी.एस्सी. चौथो वर्षका विद्यार्थीलाई बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न

2026-10-02

भरतपुर, २०८३/०६/१५:
वीरेन्द्र बहुमुखी क्याम्पस, नौबिघा परिसरमा प्राणीशास्त्र विभागको आयोजनामा बी.एस्सी. चौथो वर्ष उत्तीर्ण भई क्याम्पस जीवनबाट बिदाइ हुन लागेका विद्यार्थीहरूलाई बिदाइ तथा भावी शैक्षिक एवं व्यावसायिक यात्राका लागि शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

बी.एस्सी. चौथो वर्षमा अध्ययनरत छात्रा सृजना शर्माको सभापतित्व तथा प्राणीशास्त्र विभागका विभागीय प्रमुख सरोजप्रसाद साहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा विभागका प्राध्यापकहरू डा. जगन्नाथ अधिकारी, बुधन चौधरी, राजेश घोष, आनन्द कोइराला, पवित्रमुनि वज्राचार्य, विपिनचन्द्र घिमिरे र जीवन गिरीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बी.एस्सी. चौथो वर्षमा अध्ययनरत छात्रा सुरुचि खरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। उहाँले उत्तीर्ण भई बिदाइ हुन लागेका विद्यार्थीहरूलाई आगामी शैक्षिक तथा व्यावसायिक यात्राका लागि शुभकामना व्यक्त गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो।

उक्त फेयरवेल कार्यक्रमको सञ्चालन बी.एस्सी. चौथो वर्षका विद्यार्थीहरू स्मृति ढकाल र उर्मिला सुवेदीले गर्नुभएको थियो। उहाँहरूको कुशल सञ्चालनले कार्यक्रमलाई व्यवस्थित, आत्मीय तथा रोचक बनाएको थियो।

कार्यक्रममा विभागको तर्फबाट डा. जगन्नाथ अधिकारीले कविता वाचनसहित विद्यार्थीहरूलाई बिदाइ तथा आगामी यात्राका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो। उहाँले विद्यार्थी जीवनमा हासिल गरेको ज्ञान, सीप र अनुभवलाई आगामी उच्च शिक्षा, अनुसन्धान तथा व्यावसायिक क्षेत्रमा उपयोग गर्दै जिम्मेवार र सक्षम नागरिकका रूपमा अघि बढ्न आग्रह गर्नुभयो।

त्यसैगरी, बी.एस्सी. चौथो वर्षका विद्यार्थीहरूको तर्फबाट समता अर्यालले आफ्ना अनुभव तथा क्याम्पस जीवनका सुखद स्मृतिहरू साझा गर्दै विभागका प्राध्यापकहरू, क्याम्पस परिवार तथा सहपाठीहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले क्याम्पसमा बिताएका दिनहरू जीवनका अविस्मरणीय क्षणका रूपमा रहने बताउँदै आगामी दिनमा पनि विभागसँगको सम्बन्धलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा अतिथि बुधन चौधरी तथा विभागीय प्रमुख सरोजप्रसाद साहले विद्यार्थीहरूको आगामी शैक्षिक, अनुसन्धानात्मक तथा व्यावसायिक यात्राको सफलताको कामना गर्दै उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्नुभयो। उहाँहरूले विद्यार्थीहरूले प्राणीशास्त्र विषयमार्फत प्राप्त गरेको ज्ञानलाई समाज, वातावरण तथा जैविक विविधता संरक्षणमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको अर्को आकर्षणका रूपमा डा. जगन्नाथ अधिकारीद्वारा तयार पारिएको स्मरणात्मक वृत्तचित्र (Documentary) प्रस्तुत गरिएको थियो। विद्यार्थीहरूको क्याम्पस जीवन, अध्ययनका क्रममा भएका गतिविधि, सहकार्य तथा विभिन्न स्मरणीय क्षणहरू समेटिएको उक्त वृत्तचित्रले उपस्थित सबैको ध्यान आकर्षित गरेको थियो। वृत्तचित्र प्रदर्शनका क्रममा विद्यार्थी तथा प्राध्यापकहरूले विगतका विभिन्न सम्झनाहरूलाई पुनः स्मरण गर्दै भावुक र आत्मीय वातावरण सिर्जना भएको थियो।

कार्यक्रममा विभागको तर्फबाट उत्तीर्ण विद्यार्थीहरूलाई अबिर, खादा तथा मायाको चिनो (Token of Love) प्रदान गरी सम्मानपूर्वक बिदाइ गरिएको थियो। प्राध्यापक तथा विद्यार्थीबीचको आत्मीयता, सहकार्य र पारस्परिक सम्मानलाई प्रतिबिम्बित गरेको उक्त कार्यक्रमले क्याम्पस जीवनका स्मरणीय क्षणहरूलाई अझ विशेष बनाएको थियो।

कार्यक्रमले विद्यार्थीहरूको औपचारिक क्याम्पस यात्राको एक चरणलाई बिदाइ गर्दै उच्च शिक्षा, अनुसन्धान, रोजगारी तथा समाजसेवाका क्षेत्रमा नयाँ यात्राको शुभारम्भका लागि प्रेरणा र उत्साह प्रदान गरेको थियो। प्राणीशास्त्र विभागले बिदाइ भएका सम्पूर्ण विद्यार्थीहरूको आगामी जीवन सफल, सिर्जनशील र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।