वार्षिक साधारण सभा २०८० सम्पन्न

वार्षिक साधारण सभा २०८० सम्पन्न

2024-01-02

विगत वर्षझैँ यस वर्ष पनि क्याम्पसको वार्षिक साधारण सभा २०८० पौष १४ गते यसै क्याम्पसका क्याम्पस प्रमुख प्रा. दयाराम पौडेलको अध्यक्षतामा सम्पन्न भयो । सहायक क्याम्पस प्रमुख भानुभक्त कंडेलले सञ्चालन गर्नुभएको उक्त सभामा सहायक क्याम्पस प्रमुख भोजराज गौलीले स्वागत मन्तव्य राख्नुभएको थियो । यस सभामा क्याम्पसका पूर्व क्याम्पस प्रमुखहरु, सहायक क्याम्पस प्रमुखहरु, कार्यरत प्राध्यापकहरु, कर्मचारी तथा अध्ययनरत विद्यार्थी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सभामा क्याम्पस प्रमुखले गत वर्ष देखि हालसम्म भएका क्याम्पसका समष्टिगत शैक्षिक, प्रशासनिक, भौतिक पूर्वाधार, अवसर तथा चुनौतीहरु र आगामी रणनीतिका बारेमा विवरण प्रस्तुत गर्नुभएको थियो । सभामा प्राध्यापकहरुको तर्फबाट कार्यसमिति सदस्य श्री राजाराम आचार्य, त्रि.वि. प्राध्यापक संघ, एकाई सभापति श्री सूर्यनारायण पौडेल, प्रजातन्त्रवादी प्रध्यापक संघ , एकाई सभापती श्री थानेश्वर सापकोटा, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, एकाई सभापति मदन फुँयाल लगायत अन्य प्राध्यापकहरु र  क्याम्पसको पठनपाठन, व्यवस्थापन, भौतिक पूर्वाधार तथा प्राध्यापकहरुको कर्तव्य र हकहितका बारेमा आफ्नो चासो तथा राय राख्नुभएको थियो भने त्रि.वि. कर्मचारी संघ, एकाई समिति सभापती श्री सन्त प्रसाद ढु·ानाले हाल क्याम्पसमा कर्मचारीहरुको व्यवस्थापन र समस्याको बारेमा राय राख्नुभएको थियो । त्यस्तै विद्यार्थी संघ/संगठनका प्रतिनिधिहरु श्री कुमार जोशी र श्री सुजन ढकालले कर्मचारी व्यवस्थापन, पुस्तकालय व्यवस्थापन, कक्षाकोठा व्यवस्थापन, अतिरिक्त कृयाकलाप र विद्यार्थीहरुले भोग्नुपरेका समस्याबारे आफ्नो राय राख्नु भएको थियो । सभामा सम्मानित पूर्व क्याम्पस प्रमुखहरुको तर्फबाट प्रा. डा. केशवभक्त सापकोटा र सह.प्रा. श्री विष्णु प्रसाद सापकोटाले शुभकामना मन्तव्य राख्नु भयो र लाइब्ररी एंव समस्त कर्मचारी प्रतिनिधिहरुको तर्फबाट श्री महेन्द्र प्रसाद अधिकारीले आफ्नो राय राख्नुभएको थियो ।

साधारण सभाको अवसरमा उत्कृष्ट विभाग, सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी र अन्तराष्ट्रिय जर्नलमा लेखरचना प्रकाशन गर्ने अनुसन्धानात्मक लेखरचनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट विभागका रुपमा अङग्रेजी विभाग, उत्कृष्ट वर्ष कर्मचारीको रुपमा श्री लिलानाथ चौलागाई, श्री चन्द्रप्रसाद न्यौपाने र श्री गोमादेवी कान्हु सम्मानित हुनुभएको थियो भने उत्कृष्ट विद्यार्थीका रुपमा ४ जिपिए  प्राप्त गर्नुभएका स्नातकोत्तर तह भौतिकशास्त्र विषय चौँथो सेमेष्टरका विद्यार्थी श्री जयन्त वाग्ले सम्मानित हुनुभएको थियो । अन्तराष्ट्रिय जर्नलमा अनुसन्धनात्मक लेख प्रकाशन गर्ने सह.प्रा.डा. गंगाराज पोखरेल, उप.प्रा. डा.रामकृष्ण तिवारी, उप.प्रा. डा. जगन्नाथ अधिकारी,  उप.प्रा. डा. कृष्णप्रसाद कंडेल, उप.प्रा. श्री सञ्जयकुमार शाह र उप.प्रा. श्री किशोरचन्द्र घिमिरेलाई सम्मानित गरिएको थियो । सोही कार्यक्रमको अवसरमा विभिन्न विधाहरुमा सम्मान कार्यक्रम सम्पन्न भयो । अल्मुनाई एशोसियसन, वीरेन्द्र बहुमुखी क्याम्पस, सेवा निवृत प्राध्यापक तथा कर्मचारीहरु, सरुवा भई आउनुभएका प्राध्यापक तथा कर्मचारीहरु र  यसै वर्ष करार शिक्षकको रुपमा छनौट भई आउनुभएका शिक्षकहरु, गत वर्षदेखि हालसम्म विद्यावारिधी उपाधी हासिल गर्नुभएका प्राध्यापकहरु डा. सुदिप वाग्ले, डा. कृष्ण प्रसाद कंडेल, डा. जगन्नाथ अधिकारी, डा. गोविन्द्र प्रसाद ढु·ाना र डा. रामकृष्ण तिवारी लगायन एमफिल उपाधी हासिल गर्नुभएका उप.प्रा. श्री हरिदेवी शर्मा सम्मानीत हुनुभएको थियो । साथै विद्यावारिधीको अनुसन्धान निर्देशन गर्नुभएका प्रा. डा. हरिहर पौडेल र अनुसन्धान व्यवस्थापन इकाईको स्थापनाकालदेखि हालसम्म कुशलतापूर्व आफ्नो भूमिका निर्वाह गर्नुभएका प्रा. डा. सिताराम बहादुर थापा समेत सम्मानित हुनुभएको थियो । 


हाल क्याम्पसमा रहेका कमी कमजोरीहरु तथा चुनौतीहरुलाई सामना गरी सक्षम रुपमा क्याम्पसका गतिविधि अगाडि बढाउन सम्बद्ध सबैले पहल गर्ने, कार्यसमिति तथा व्यवस्थापन समितिले वर्ष भरी गरेका निर्णयहरु तथा सोको कार्यान्वयनको अनुमोदन गरी आगामी वर्षका लागि गर्न सकिने शैक्षिक कार्यक्रम तथा भौतिक निर्माणका कार्यक्रमहरुलाई पारित गर्दै वार्षिक साधारण सभा सम्पन्न भएको थियो ।